सडक सुरक्षाको विश्वव्यापी अवस्थाको प्रतिवेदन २०१८ र नेपालको सन्दर्भ (Overview Of Global Status Report On Road Safety With Reference To Nepal)

This article is expanded version of my article published in Himal weekly (20-26 January 2019). This article is an "Overview of Global Status Report on Road Safety with Reference to Nepal" and stresses the public health importance of road injuries and statistics for Nepal.

यसै वर्ष डिसम्बर ७ अर्थात् २०७५ मंसिर २१ गते विश्व स्वास्थ्य संगठनले ग्लोबल स्टाटस रिपोर्ट अन रोड सेफ्टी २०१८ (सडक सुरक्षाको विश्वव्यापी अवस्थाको प्रतिवेदन २०१८) प्रकाशित गरेको छ, जसअनुसार विश्वमा सडक दुर्घटनामा मर्नेहरूको संख्यामा निरन्तर वृद्धी भइरहेको पाइएकोछ। सन् २०१६ को तथ्यांकको विश्लेषण गर्दा यो संख्या विश्वभर १३ लाख ५० हजार पुगेको छ। सन् २०१३ को तथ्यांकभन्दा यो संख्या एक लाखले बढी छ ।

विश्व स्वास्थ्य संगठनले सन् २००४ मा विश्व बैंकसँग मिलेर पहिलो पटक सडक दुर्घटनासम्बन्धी विश्व रिपोर्ट प्रकाशित गरेको थियो यस किसिमको सडक सुरक्षाको विश्वव्यापी प्रतिवेदन प्रकाशन गर्न सन् २००९ देखि शुरू गरेको हो । केही वर्षको अन्तरमा प्रकाशन गरिने यो चौथो संस्करण हो । यस अघिको २०१५ को प्रतिवेदनलेभन्दा यस वर्ष यो एक लाखले बढेर १३ लाख ५० हजार पुगेको छ । तर जनसंख्या र यातायातका साधनको बढ्दो संख्यालाई हेर्दा केही सफलता मिलेकै मान्नु पर्दछ । जस्तो कि विश्वमा सन् २००० मा मृत्युको दर औषत १३५ प्रति एक लाख यातायातका साधनमा रहेकोमा यो दर २०१६ मा ६४ मा झरेको छ ।

मानिसहरूले सडक आवागमनका लागि मृत्युको रूपमा चुकाइएको जीवनको मूल्यलाई कहिल्यै स्वीकार गर्न सकिंदैन। यस विरूद्ध निस्कृयताका लागि हामीलाई कुनैं छुट छैन । यो यस्तो समस्या हो जसको समाधानका लागि प्रभावकारी उपायहरू उपलव्ध छन् । त्यस्ता उपायहरू अवलम्बन गर्न अझ ठोस कार्यहरूका लागि यसै प्रतिवेदन मार्फत हामी सबै साझेदारहरू र सरकारहरूलाई आह्वान गर्दछौं – डा. ट्रेडोस अधानोम गेब्रेएसस

अर्कोतर्फ सन् २००० मा प्रति एकलाख जनसंख्यामा मृत्युको दर १८.८ रहेकोमा २०१६ मा १८.२ मा झरेको छ वा थोरैमात्र घटेको छ । तर यसलाई सडक सुरक्षा विज्ञहरूले सडक दुर्घटनाको मृत्यु स्थीरताउन्मुख रहेको भनेका छन् । विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित यस सडक सुरक्षाको विश्वव्यापी प्रतिवेदनको सल्लाहकार र जर्ज वाशिङ्गटन विश्वविद्यालमा जनस्वास्थ्यका प्राध्यापक अद्नान हाइदरले एक टिप्पणी प्रकाशन गर्दै विश्वव्यापी सडक सुरक्षालाई संयुक्त राष्ट्र संघीय दीगो विकासका लक्ष्यप्राप्ति तर्फको अत्यन्तै महत्वपूर्ण मार्ग भनेका छन् । 

यी प्रतिवेदनहरूले विश्व समुदायलाई विगत एक दशकमा अपनाइएका सडक सुरक्षाका प्रयास र तिनको प्रगति पुनरावलोकन सम्भव बनाएको छ भने सदस्य राष्ट्रहरूले विभिन्न समयमा उपलव्ध गराएका तथ्यांकहरू बीचका असंगतीलाई उजागर गरेका छन् र तथ्यांकीय पद्दतिद्वारा सडक दुर्घटनाबाट हुने मृत्युका गुणस्तरीय अनुमान प्रस्तुत गरेको छ, जसबाट सदस्य राष्ट्रहरूलाई आफ्ना तथ्यांक प्रणालीहरूको पुनरावलोकन गर्न प्रेरणा पनि प्रदान गरेको छ। उनका अनुसार – सडक दुर्घटनाको संख्यामा कमी ल्याउने लक्ष्यका लागि केवल गर्नुपर्ने कार्यहरूको सूचि बनाएर मात्र हुँदैन कि राजनैतिक प्रतिवद्धता, काम गर्नको लागि अनुकूल वातावरण, कार्यान्वयनमा सहयोग, जनसहभागिता र चुनौंतिको सामना जस्ता पाँच महत्वूर्ण मुद्दाहरूको विवेचना गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ – डा. अद्नान हाइदर, ल्यान्सेट पब्लिक हेल्थ मा 

प्रतिवेदन अनुसार पश्चिम–अफ्रीकी देश लाइबेरियामा सडक दुर्घटनाबाट हुने मृत्युको दर सबैभन्दा उच्च (३५.९ प्रति एक लाख जनसंख्या) रहेको छ भने दक्षिण एसियाली मुलुक मालदीभ्समा यो दर सबैभन्दा कम (०.९ प्रति एकलाख जनसंख्या) रहेको छ । तर भरपर्दो तथ्यांकका आधारमा भने स्वीट्जरल्याण्ड र नर्वेका लागि सडक दुर्घटना मृत्युको दर सबैभन्दा कम २.७ प्रति एकलाख जनसंख्या रहेको छ ।

यस वर्षको प्रतिवेदनले सन् २०१६ भरिमा भएका सडक दुर्घटनाका मृतकहरूको संख्याका आधारमा अनुमानहरू तयार पारिएको छ । तर नेपालको लागि गरिएको अनुमानका लागि २०१५ को ट्राफिक प्रहरी तथ्यांक (जम्मा २,००६ मृत्युको संख्या) लाई आधिकारिक मानेर तथ्यांकीय अनुमान तयार पारिएको रहेछ । तर २०१६/१७ यो संख्या बढेर २,१९५ भएको प्रहरीकै तथ्यांकले देखाउँछ । यसरी अधिकारिक तथ्यांकलाई नै आधारमा मान्ने हो भने पनि नेपालमा सन् २००१ ताका प्रति एकलाख यातायातका साधन मृत्युको दर २७७ रहेकोमा यो घटेर ८६ मा पुगेको छ । यो विश्वको औषत (६४) भन्दा निकै बढी हो । अर्को तर्फ विश्व स्वास्थ्य संगठनकै अनुमानित मृत्यु संख्यालाई आधार मान्ने हो भने यो दर अझै १९८ प्रति एकलाख यातायातका साधन रहेको भन्न सकिन्छ ।

नेपालसम्बन्धी तथ्यांकहरू

प्रहरीको अधिकारिक तथ्यांकले सन् २०१६/१७ मा सडक दुर्घटनामा मर्नेको संख्या २,१९५ रहेको जनाएको छ भने विश्व स्वास्थ्य संगठनको अनुमानले यो संख्या ४,६२२ रहेको भनिएको छ । स्वास्थ्यका विश्व्यापी तथ्यांकको अर्को भरपर्दो स्रोत ग्लोबल बर्डन अफ डिजीज अध्ययनले त नेपालमा सन् २०१६ का लागि सडक दुर्घटनामा मृत्युको संख्या ६,७६५ सम्म भएको र प्रति एकलाख जनसंख्यामा मृत्युको दर २३ रहेको पनि उल्लेख गरेको छ । तर विश्व स्वास्थ्य संगठनको पछिल्लो यस रिपोर्टले नेपालको लागि यो दर १५.९ प्रति एकलाख जनसंख्या अनुमान गरिएको छ । 

छिमेकी देशहरू बाङ्लादेश, अफगानिस्तान, श्रीलंका, पाकिस्तानमा यो दर* नेपालभन्दा कम रहेको छ (*नोट हिमालको प्रिन्ट संक्रणमा दरको सट्टा संख्या हुनगएकोमा सच्याएर बुझ्नुहोला)। उक्त प्रतिबेदनमा अरु देशहरुका लागि कुन कुन यातायातका माध्यम वा साधनबाट मारिनेहरूको संख्या र दर खुलाइएको गरिएको भए पनि नेपालको लागि त्यो उपलव्ध छैन । तर प्रहरीको तथ्यांकमा कम से कम २,१९५ जनाका लागि त यो तथ्यांक उपलव्ध थियो, यस प्रतिबेदनमा त्यसको प्रयोग किन भएन ? दक्षिण एसियाली मुलुकहरूको औषतमा सम्पूर्ण सडक दुर्घटनाका मृतकमध्ये पैदलयात्री र साइकलयात्रीहरूको अनुपात ४३ प्रतिशत रहेको जनाइएको छ । नेपाल प्रहरी कै तथ्यांकले पनि यस्तै रहेको पाइन्छ ।

तर ग्लोबल बर्डन अफ डिजीज अध्ययन २०१७ ले नेपालका सडक प्रयोगकर्ताहरूमा कुन कुन यातायातका माध्यम वा साधनबाट मारिनेहरूको संख्या कति वा अनुपात कति छ भनेर अनुमान गरेको छ । जसअनुसार सबैभन्दा ठूलो हिस्सा पैदलयात्रीहरूको रहेको देखिन्छ ।

तर विश्व स्वास्थ्य संगठनको यसै प्रतिबेदनको अनुमानलाई आधार मान्ने हो भने नेपालमा दैनिक १३ जनाको सडक दुर्घटनामा मृत्यु हुने गर्दछ, यो संख्या ट्राफिक प्रहरिको तथ्यांकभन्दा निकै बढी छ । यसरी फरक तथ्यांक र तथ्यांकीय विधिबाट गरिएका अनुमानहरूका आधारमा एउटा कुरा के स्पष्ट हुन्छ भने नेपालमा यस्ता भयावह स्वास्थ्य समस्याका लागि भरपर्दा तथ्यांक उपलव्ध रहेनछन । यस्तो जटिल तर लुकेको जनस्वास्थ्य समस्याका समाधान पहिल्याउने कार्यका लागि भरपर्दा र यथार्थ तथ्यांकहरू पहिलो आवश्यकता हो ।

विश्व स्वास्थ्य संगठनको प्रणाली अनुसार नेपालसम्बन्धी तथ्यांकहरूलाई यस विश्वव्यापी प्रतिवेदनका लागि संकलन गर्ने र तिनलाई मोडलिङ गरेर उपयुक्त परिमार्जित अनुमान प्रकाशन गरिएको हुन्छ । यो तथ्यांकशास्त्रीय पद्धति सबै देशका तथ्यांकका लागी पनि लागू हुन्छ (हेर्नुहोस् यस प्रतिवेदनका सबै संस्करणहरूमा प्रकाशित नेपालमा सडक सुरक्षाका सूचकांको तुलनात्मक तालिका)।

आशा गरौं आगामी वर्षहरूमा राष्ट्रीय तथ्यांकको गुणस्तरमा सुधार आउनेछ। हुन पनि सडक दुर्घटना नेपालको लागि यो दशकको सबैभन्दा चुनौंतिपूर्ण स्वास्थ्य तथा सामाजिक समस्याको रूपमा अगाडी आइरहेको छ तर यसको सम्बोधनका लागि राज्यका चारै अङ्गहरू, नागरीक समाज र नीजि क्षेत्र सबैको एकमुष्ठ सहकार्य आवश्यक छ ।

यसका विविध पक्षहरू उजागर गर्न, जनचेतना फैलाउन, नीति-निर्माताहरू र कार्यान्वयनकर्ताहरूलाई सुसूचित पार्नका लागि पत्रकार क्षेत्रको पनि ठूलो भूमिका रहन्छ । २०१८ को यो विश्व प्रतिवेदन सार्वजनिक गरिएको अवसरमा सिएनएन, बिबिसी, एएफपी, भारतीय, चिनीयाँ, अफ्रिकी सबै जसो सञ्चारमाध्यममा यस विषयमा ठूला-साना समाचारहरू प्रकाशन भैरहँदा नेपालमा यसको त्यती चर्चा भएको पाइएन । सायद विश्व स्वास्थ्य संगठनले वितरण गर्ने प्रेस बक्तव्य नेपाली संचारमाध्यमहरूलाई सीधै वितरण गर्ने पद्धति नभएर यस्तो हुन गएको हो कि ? यस महत्वपूर्ण विषयको समाचारलाई नेपाली संचार जगतले नजरअंदाज गर्छ जस्तो त लाग्दैन ।

 सडक दुर्घटनाबाट हुने मृत्यु न्यूनीकरणका १२ विश्वव्यापी लक्ष्यहरूः

यस प्रतिवेदनले विश्व समुदायले हाल विश्वभर परिचालन भइरहेका सडक दुर्घटना न्यूनीकरणका प्रयासहरूलाई अपर्याप्त भन्दै संयुक्त राष्ट्र संघ महासभाको आह्वानमा सन् २०१७ मा सदस्य राष्ट्रहरूले सन् २०३० सम्मका लागि सडक सुरक्षाका जोखिमहरू र सेवा प्रदायक प्रणालीसम्बन्धी, सडक सुरक्षाका पाँचवटा स्तम्भहरू (पिलरहरू) मा अधारित, १२ वटा एैच्छिक लक्ष्यहरू अवलम्बन गरेका छन् । ती लक्ष्यहरूलाई अगामी दिनहरूका लागि समाधानका उपायहरूका रूपमा लिन सकिन्छ ।

क. स्तम्भ १ वा पिलर १ सम्बन्धी लक्ष्यहरू

१. सन् २०२० सम्ममा सबै राष्ट्रहरूले बहुपक्षीय साझेदारीमा आधारित लक्ष्यप्राप्तीका लागि समयसीमा तोकिएको एउटा विस्तृत राष्ट्रीय सडक सुरक्षा कार्ययोजना तयार गर्नेछन् ।

२. सन् २०३० सम्ममा सबै राष्ट्रहरूले सडक सुरक्षासम्बन्धी एक वा धेरै संयुक्त राष्ट्र संङ्घीय कानूनी संयन्त्रलाई अंगीकार गर्नेछन् ।

ख. स्तम्भ २ वा पिलर २ सम्बन्धी लक्ष्यहरू

३. सन् २०३० सम्ममा सबै नयाँ निर्माण गरीएका सडकहरू सबै खालका सडक प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखी सबै प्राविधिक मापदण्डहरू हासिल गर्ने वा न्यूनतम (थ्री स्टार) मापदण्ड पूरा गरेको हुनेछ ।

४. सन् २०३० सम्ममा हाल संचालनमा रहेका ७५% भन्दा बढी सडकहरूले सबै खालका सडक प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखी सबै प्राविधिक मापदण्डहरू हासिल गरेको हुनेछ ।

ग. स्तम्भ ३ वा पिलर ३ सम्बन्धी लक्ष्य

५. सन् २०३० सम्ममा सबै नयाँ (उत्पादन, विक्री वा आयातका आधारमा) र प्रयोगमा रहेका यातायातका साधनहरूले संयुक्र राष्ट्र संघीय नियमावलीहरू, विश्वव्यापी प्राविधिक नियमावलीहरू, वा सो सरहको मान्यता प्राप्त राष्ट्रीय उच्च गुणस्तरीय सुरक्षा मापदण्ड प्राप्त गरेको हुनेछ ।

घ. स्तम्भ ४ वा पिलर ४ सम्बन्धी लक्ष्यहरू

६. सन् २०३० सम्ममा तोकिएको भन्दा तीब्र गतिमा गुडाउने प्रवृत्तिको दरलाई आधा पारेर तीब्र गतिका कारणबाट हुने सडक दुर्घटना, घाइते वा मृत्युलाई न्यूनीकरण गर्ने लक्ष्य पूरा गरिसकेको हुनेछ ।

७. सन् २०३० सम्ममा सबै मोटरसाइकलसवारहरूले तोकिएको मापदण्ड अनुसारका हेल्मेट उचित तरिकाले प्रयोग गरेको अनुपातलाई शतप्रतिशतको हाराहारीमा पुर्याइने छ ।

८. सन् २०३० सम्ममा मोटरवाहन सवारहरूले सीटबेल्ट प्रयोग गरेको वा बालबालिकाको लागि सीटबेल्ट प्रणाली अपनाएको अनुपातलाई बढाउँदै शतप्रतिशतको हाराहारीमा पुर्याइने छ ।

९. सन् २०३० सम्ममा चालकले मादक पदार्थ वा मनोत्तेजक पदार्थको सेवन गरेका कारण हुने दुर्घटनाबाट हुने घाइते वा मृत्युको संख्यालाई आधा पार्न त्यस्तो प्रवृत्तिलाई पनि न्यूनीकरण गर्ने ।

१०. सन् २०३० सम्ममा सबै देशहरूमा चालकले वाहन चलाईरहेको बेला मोबाइल फोनको प्रयोग नियन्त्रण वा निषेध गर्ने कानून उपलव्ध हुनेछ ।

११. सन् २०३० सम्ममा सबै देशहरूमा चालकले लगातार गाडी चलाउने अवधिको नियमन गर्ने र व्यवसायिक चालकहरूका लागि आराम गर्नुपर्ने अवधि तोकिएको कानून बनार्इ लागू गरीएको वा यस विषयमा उपयुक्त अन्तर्राष्ट्रीय प्रचलनलाई अपनाइएको हुनेछ ।

ङ. स्तम्भ ५ वा पिलर ५ सम्बन्धी लक्ष्य

१२. सन् २०३० सम्ममा सबै देशहरूले सडक दुर्घटनाका घाइतेलाई घटना भएदेखि प्रथम अपतकालीन चिकित्सा स्याहार पाउने बीचको समयावधिलाई घटाउने राष्ट्रीय लक्ष्य निर्धारण गरी तिनलाई हासिल गरेको हुनेछ ।

प्रभावकारी प्रमाणित केही रणनीतिहरूः

सडक दुर्घटनाबाट हुने घाइते र मृत्युको परिमाणको गम्भीरतालाई पहिचान गरी गत वर्ष मात्रै विश्व स्वास्थ्य संगठनले यसको नियन्त्रण र रोकथामका लागि उपलव्ध सबै तथ्यप्रमाण संश्लेषण गरी एउटा सडक सुरक्षा प्राविधिक प्याकेज तयार पारेको छ । उक्त प्याकेजमा सडक यातायात दुर्घटनाका प्रभावहरू कम गर्ने ६ प्रभावकारी रणानीतिहरू सिफारीश गरेको छ । जस अनुसारः १) गति व्यवस्थापन, २) सडक सुरक्षाको नेतृत्व प्रवर्द्धन, ३) सडक, पूर्वाधार डिजाइन र वातावरण, ४) यातायातका वाहनको सुरक्षा मापदण्ड निर्धारण, ५) कानून पालनामा कडार्इ, र ६) दुर्घटनालगत्तै दिइने चिकित्सकीय स्याहारमा सुधार । राष्ट्रीय प्राथमिकता अनुसार रणनीतिमा चाहिने मात्रामा स्रोतहरू लगानी गरिएमा परिणामहरू छिटै प्राप्त गर्न सम्भव हुनसक्छ । वास्तवमा यो रणनीति मैं अधारित भएर माथिका १२ लक्ष्यहरू निर्धारण गरिएको हो पनि भन्न सकिन्छ ।

नेपालका लागि आगामी बाटोः

यसरी सडक सुरक्षाका लागि थप परिमार्जित लक्ष्यहरूको प्रादुर्भाव भइरहँदा नेपालमा आधारभूत तथ्यांकहरूको व्यवस्थापन गर्नु नैं ठूलो चुनोति रहेको छ । अबका ११ वर्ष भित्र हामिले उपरोक्त १२ वटा लक्ष्यहरू पनि हासिल गर्नको लागि संस्थागत र व्यवहारिक पद्दतिको निर्माण र अवलम्बन गरिसक्नु पर्ने अवस्था छ । यसका लागि सम्बद्ध सबै पक्षहरू इमान्दारिताका साथ आजैदेखि काम थालिहाल्नु समयको मांग हो ।

१. सडक यातायातसम्बन्धी सबै दुर्घटनाहरू संयोगबस हुने र अनुमान नैं गर्न नसकिने घटनाहरू होइनन् बरू त्यसका लागि जिम्मेवार जोखिमका तत्वहरू के के हुनसक्छन् भने पहिले नैं अनुमान गर्न सकिन्छ भनेर जनसमुदायमा स्पष्ट ज्ञान र चेतना प्रवाह गर्नु सबैभन्दा ठूलो कुरा हो । यस विषयमा संचार माध्यमहरूले ठूलो भूमिका खेल्न सक्छन् ।

२. हाम्रो देशमा सडक दुर्घटनाको यथार्थ स्थिति के कस्तो छ ? को को यसको सबैभन्दा बढी जोखिममा रहन्छन् ? भन्ने तथ्यहरू सडक प्रयोगकर्ता वा सडक सुरक्षाका अभियन्ताहरूमांझ पुर्याउन विज्ञहरू र अनुसन्धानकर्ताहरूले योगदान गर्न सक्छन् ।

३. निर्णयकर्ता वा नीतिनिर्माताहरूले सडक दुर्घटना कम गर्न देशमा के कस्ता प्रावधानहरू तर्जुमा गरिएका वा लागू गरिएका छन् भन्ने विषयमा स्पष्ट जानकारी दिन सक्छन् । यसबाट नीतिहरूको अन्तर थाहा पाउन मद्दत पुग्दछ ।

४. सडक सुरक्षा अभियन्ताहरू, कार्यान्वयनकर्ताहरू र नीति निर्माताहरूले उपलव्ध नीतिगत संरचनालाई लागू गराउन वा उपयुक्त ढंगले पालना गराउन आम जनमुदाय र जनप्रतिनिधिहरू लगायत समाजका विविध पक्षहरूबाट के कस्तो अपेक्षा हुन्छ भन्ने विषयमा जानकारी राख्दछन् । यस्तो जानकारीलाई विद्यमान नियमकनूनलाई कसरी प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने थाहा पाउन मद्दत पुग्छ ।

नेपालको सन्दर्भमा स्पष्ट रूपले भन्नु पर्दा सडक सुरक्षाका लागि नीतिगत वा राजनैतिक ईइच्छाशक्ति धेरै मात्रामा बढाउनु जरूरी छ । जसले गर्दा भएका वा निर्माण गरिएका प्रावधानहरूलाई नैं पनि कार्यान्वयन गराउन चाहिने जनशक्ति, स्रोतहरूको व्यवस्थापन गर्न मद्दत पुग्दछ । त्यसै गरी जवाफदेहिताको सुनिश्चितता अर्को महत्वपूर्ण पक्ष हो किनभने साँचो अर्थमा सडक सुरक्षाका लक्ष्यहरू हासिल गर्नका लागि राज्य, संचारमाध्यम, आमनागरीक समूह लगायत विभिन्न क्षेत्रहरू र पक्षहरू सँगसँगै सहकार्य यसको केन्द्र हो । तथ्यमा अधारित प्रभावकारी कार्यक्रमका लागि यथार्थ र गुणस्तरीय तथ्यांक अत्यन्तै महत्वपूर्ण हुने भएकाले सडक दुर्घटना र सडक सुरक्षासम्बन्धी तथ्यांक संकलन प्रणालीलाई पनि सुदृढ बनाउनु उत्तिकै जरूरी हुन्छ । तर यी सबैको प्राप्तीका लागि राष्ट्रीयस्तरमै समग्र प्रणालीको क्षमता अभिवृद्धि गरेर सडक सुरक्षाको नेतृत्व, समन्वय, स्रोतको प्रबन्ध लगायत कार्यप्रदर्शनका लागि दीगो प्रभावकारी योजनाको जिम्मेबारी सरकारबाटै आउनु पर्दछ ।

Online edited version is available here http://himalkhabar.com/news/10766 

ब्रिष्टल, यु.के. २३.०१.२०१९