सडक दुर्घटना पीडितहरू | विचार/दृष्टिकोण

कार्तिक २९, २०७७ शनिबार, गोरखापत्रमा प्रकाशित

विश्वभर कोरोना भाइरसले मानिसका दैनिक क्रियाकलापहरूलाई असामान्य बनाएको लगभग एक वर्ष हुन लाग्यो । नेपालमा पनि आठ महिनादेखि यसले जनजीवनलाई निकै प्रभावित गरेको छ । यसबीचमा सबैभन्दा बढी प्रभावित बनेको पक्ष यातायात पनि हो । कोरोना भाइरसको प्रसारणलाई रोक्न वा सीमित गर्न मानिसलाई यात्रा वा भ्रमणमा बन्देज लगाउन लामो समयसम्म बन्दाबन्दी वा लकडाउन गरिएको थियो । लकडाउनको अवस्थामा अत्यावश्यक सेवाको बाहेक अरू सबैखालका निजी र सार्वजनिक यातायात सेवा बन्देज गरिएको थियो । जानकारहरूका अनुसार त्यस अवधिमा नेपालमा सामान्यको तुलनामा पाँच प्रतिशतमात्र यातायातका साधनहरू चलेका थिए । यसरी करिब तीन महिना पूर्ण लकडाउन गर्दा अर्थतन्त्र र जनजीवनमा नकारात्मक प्रभाव परेकाले बिस्तारै आंशिक रूपमा खुकुलो बनाउँदै यातायातलाई सजिलो पारिएको छ ।
यसरी यातायातका साधनहरूको आवागमनलाई नियन्त्रण गरिएकाले सडक दुर्घटनामा स्वतः कमी आयो होला भन्ने पनि एकथरिको धारणा पाइयो । तर, नेपालमा सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको सङ्ख्यामा तुलनात्मक हिसाबले कमी आएन । एक अध्ययनले प्रहरी तथ्याङ्कलाई उल्लेख गर्दै लकडाउनकै अवधिमा पनि सडक दुर्घटनामा परेर दैनिक तीन मृत्यु र २२ जना घाइते भएको देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सामान्य अवस्थामा नेपालमा दैनिक १३ जनाको सडक दुर्घटनामा परेर मृत्यु हुने गर्दछ । त्यसैले लकडाउनका समयमा भएको हताहतीको सङ्ख्या सामान्य अवस्थामा हुनेभन्दा केही कम थियो तर लकडाउन खुलेपछिको समयमा फेरि दुर्घटना, मृत्यु र घाइतेको सङ्ख्या पहिलेकै अवस्थामा पुगिसकेको छ ।
कोरोना भाइरससम्बन्धी विभिन्न सञ्चारमाध्यमहरू वा सामाजिक सञ्जालबाट विभिन्नखालका सूचना एवम् समाचारहरू आइरहेको र तिनले व्यक्ति र समाजमा मिश्रित प्रभाव पारिरहेको सन्दर्भमा दिनहुँ भइरहेका सडक दुर्घटनाका समाचारले थप पीडाबोध गराउँछ । गत साता आइतबार र सोमबार क्रमशः रूपन्देही र उदयपुरबाट सडक दुर्घटनाका हृदयविदारक समाचार आए । रूपन्देहीमा भर्खर क्याम्पस प्रमुखमा पदोन्नति भएका प्राध्यापक डा. शिव पौडेलले नयाँ स्कुटर किनेपश्चात् आफ्नै घर कम्पाउन्डमा त्यसलाई प्रयोग गर्न सिक्दै थिए । त्यस्तो उल्लासपूर्ण परिवेश एकाएक शोकाकुल अवस्थामा परिणत हुँदा परिवारजनमा कस्तो बज्रपात भयो होला ? त्यसैगरी, त्रियुगा नगरपालिकाकी एक १७ वर्षीया किशोरीको पनि स्कुटर दुर्घटनामैं परेर निधन भयो । ती किशोरीका बाबुलाई कस्तो आघात परेको होला भनेर कल्पनासम्म गर्न सक्दछु । यद्यपि, नेपालमा दैनिक दर्जनौँ मानिसको मृत्यु हुने भए तापनि यी दुईजनाको स्मरण गर्दै तिनलाई कसरी बचाउन सकिन्थ्यो भनेर सडक दुर्घटना कम गर्ने दायित्व भएका र अधिकार प्राप्त संस्थाहरूले ध्यान दिन सुरू गरेमा समाधानको पनि सुरूवात हुनेछ ।
सडक दुर्घटनाका लागि अक्सर हामीले सडक प्रयोगकर्ताहरूको सडक अनुशासन, नियम कार्यान्वयनकर्ताको अकर्मन्यता र तत्कालको वातावरणीय अवस्थालाई दोष दिने गर्दछौँ । तर, माथि उल्लेख गरेका दुई घटना वाहन चलाउन सिक्न चाहनेका लागि चालक प्रशिक्षण तालिम केन्द्रमा सहज पहुँच नहुनु र वाहन प्रयोगबारे सुरक्षा सचेतना कमीको संयुक्त परिणामले भएका हुन् । यसलाई सहज बनाउन दायित्व बोकेका सरकारी अधिकारीहरू जुर्मुराउन ढिलो भइसकेको छ ।
सडक दुर्घटना पीडितहरूको स्मृतिका लागि विश्व दिवसको सन्दर्भमा पनि मृतक एवम् घाइतेहरू र उनीहरूका परिवारजनको स्मरण गर्दा हामीलाई यस्ता दुर्घटना रोक्न आ–आफ्नो तर्फबाट सक्दो कार्य गर्ने प्रेरणा मिल्छ कि भन्ने विश्वास पनि लिन सकिन्छ । २५ वर्षअघि सडक दुर्घटना पीडितहरूको युरोपियन सङ्घ र त्यसका सदस्य संस्थाहरूले सुरू गरेको सडक दुर्घटना पीडितहरूको स्मृति दिवसलाई सन् २००५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व दिवसका रूपमा घोषणा गरेपश्चात् विश्वभर यस दिवसलाई प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबार (यस वर्ष म्हपूजा÷गाईपूजाका दिन) आयोजना गरिन्छ । यस दिवसले सडक दुर्घटनाहरूका कारण अकालमा ज्यान गुमाउँदा पर्ने भावनात्मक आघातका साथै आर्थिक विनाशको परिमाणप्रति ध्यानाकर्षण गर्ने र सडक दुर्घटनाका पीडितहरूको पीडा पहिचान गर्ने, सहयोग गर्ने वा भविष्यमा यस्ता दुर्घटना दोहोरिनबाट रोकथाम गर्ने कार्यहरू गर्ने अवसर प्रदान गर्दछ । हरेक वर्ष यस दिवसलाई फरक–फरक नाराले केन्द्रित गरेको हुन्छ । यस वर्षको नारा– सम्झना, सहयोग, कार्य (रिमेम्बर, सपोर्ट, एक्ट) रहेको छ ।
हरेक राष्ट्रिय समस्याको पछाडि सरकारको गैरजिम्मेवारीलाई देखाइन्छ । तर, विगत चार–पाँच वर्षयता नेपालमा राज्यका हरेक अङ्गहरूबाट सडक दुर्घटना न्यूनीकरणका लागि प्रतिबद्धता जाहेर भएका छन् । नेपालको सर्वोच्च अदालतले २०७२ को अन्त्यतिर यस विषयमा परमादेश जारी गरेको छ । संसद्को विकास समितिले पनि यस विषयमा अग्रसरता लिएको छ, संसद्मा प्रतिपक्षको अगुवाइमा विशेष छलफल भएर सरकारलाई निर्देश गरेको छ । प्रधानमन्त्री स्वयम्ले यस विषयमा चासो लिई गत वर्ष मङ्सिरमा सबै सरोकारवाला मन्त्रीहरूलाई दिनुभएको निर्देशनअनुरूप सम्बन्धित सबै मन्त्रीहरूबाट पनि प्रतिबद्धता व्यक्त भएकै हो । राष्ट्रपतिले पनि हरेक वर्ष यस विषयमा सरोकार राख्ने सबैसँग अन्तक्र्रिया गरी यसलाई समाधान गर्न आह्वान गर्नुभएको नै छ । स्वदेशमा रहेका र गैरआवासीय नेपाली समुदायले पनि सडक सुरक्षाका लागि आ–आफ्ना ठाउँबाट पैरवी पनि गरिरहेकै छ ।
यसरी सबैतिरबाट सडक दुर्घटनाको समस्या समाधानका लागि उच्च प्रतिबद्धता आइरहेकै छ तर पनि वर्षौं भइसक्दा पनि समस्या घट्नुको सट्टा किन बढेको छ त ? समस्या कहाँनेर छ भन्ने खोज्दै जाँदा कतै समस्या हाम्रो कर्मचारीतन्त्रमा पो छ कि ? भन्ने ठूलो प्रश्न उठ्छ । त्यसैले सडक दुर्घटनाबाट दिवङ्गत भए उनीहरूको सम्झना, बाँच्न सफल भए उनीहरूलाई सहयोग गर्दै यस्ता दुर्घटना नदोहोरिऊन् भनेर रोकथामका लागि
कार्य गरौँ ।
(बेलायतको वेस्ट अफ इङ्ग्ल्यान्ड विश्वविद्यालयमा जनस्वास्थ्य विषयका शोधकर्ता लेखक नेपालमा सडक सुरक्षाको पैरवी गर्ने संस्था नासा फाउन्डेसनका सदस्य हुनुहुन्छ ।)  https://gorkhapatraonline.com/opinion/2020-11-14-26518