बालबालिकामा जलवायु परिवर्तनको असर - Ratopati
बालबालिकामा जलवायु परिवर्तनको असर
बाल स्वास्थ्य समस्यालाई कतिपय अवस्थामा संक्रामक सूक्ष्मजीवको संक्रमण र तिनको असरहरूमा सीमित भएर बुझ्ने गरिन्छ, जुन गलत हो । जलवायु परिवर्तनका असरले हुने असामान्य घटनाहरूबाट बालबालिका लगायतलाई शरीरमा चोटपटक लाग्न सक्छ । जलवायु परिवर्तनका कारण हुने बाढी–पहिरो, आँधी–तुफान, डढेलो आदिको चपेटामा पर्ने बालबालिकाको मृत्यु हुनुका साथै शरीरमा चोटपटक पनि लाग्न सक्छ ।
अजरबैजानको बाकुमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) को निष्कर्षलाई प्रसिद्ध सञ्चारमाध्यम ‘द गार्डियन’ले ‘न्यायको भद्दा मजाक’ (ट्राभेस्टी अफ् जस्टिस)को संज्ञा दिएको छ । किनभने निर्धारित समयभन्दा एक दिन ढिलो गरी सम्पन्न सो सम्मेलन नाटकीय रुपमा अन्त्य भएको थियो । जलवायु संकटका प्रभावसँग जुध्नका लागि धनी देशहरूले विकासशील राष्ट्रहरूलाई प्रति वर्ष एक खर्ब डलर प्रदान गर्नुपर्ने आग्रह गरिएकामा अन्तिम क्षणमा धनी राष्ट्रहरूले प्रतिवर्ष जम्मा ३०० अर्ब डलरको प्रतिबद्धता जनाए ।
कार्बन उत्सर्जनलाई जलवायु परिवर्तनको कारक मानिन्छ । उच्च औद्योगिकीकरण भएका प्रमुख राष्ट्रहरूले यस सम्मेलनलाई उपेक्षित बनाएको खबर पनि सार्वजनिक भएका थिए ।
विश्वभर बढिरहेको जलवायुजन्य संकटले संसारको हरेक व्यक्ति कुनै न कुनै प्रकारले प्रभावित भइरहेको हुन्छ । जलवायुजन्य समस्या समाधान गर्न सबै एकजुट हुनुपर्नेछ । विभाजित भएर जलवायुजन्य समस्या समाधान गर्न सहज छैन । यस विषयलाई लिएर शक्ति राष्ट्रहरू, विकासशील राष्ट्रहरू, समुद्र तटीय राष्ट्रहरू एवं हिमालय क्षेत्रका राष्ट्रहरूका आ–आफ्नै तर्क र समस्या छन् । जसको न्यायसंगत समाधान खोज्नु आजको चुनौती छँदै छ ।
विश्वभरि नै जलवायु परिवर्तनको सबैभन्दा बढी चपेटामा बालबालिका छन् ।
बाल स्वास्थ्यमा असर
बालबालिकाले आफ्नो अस्तित्वको पहिलो सास लिन सुरु गर्नु अघिदेखि नै उनीहरूलाई वातावरणले असर पुर्याइसकेको हुन्छ । बालबालिकाको विकासशील मस्तिष्क, फोक्सो र प्रतिरक्षा प्रणालीको बनावट निकै संवेदनशील छन्, जसलाई वातावरणीय प्रदूषणले असर गर्छन् । यस समस्याको आकार र दायरा चिन्ताजनक विषय बनेको छ । हाल जलवायु र वातावरणीय संकटहरूको उच्च जोखिम सामना गरिरहेका देशहरूमा बसोबास गर्ने बालबालिकाको संख्या लगभग एक अर्ब छ, जुन संसारका बालबालिकाको लगभग आधा अंश हो । वायु प्रदूषण पाँच वर्षमुनिका बालबालिकाको मृत्युका लागि दोस्रो प्रमुख जोखिमको कारकका रूपमा रहेको छ ।
विश्वव्यापी तापमान वृद्धिले समुद्रको सतहमा वृद्धि भइरहेको छ । जुन टापु राष्ट्रहरूका लागि खतराजन्य हो । यस्तै, गर्मीको लहर, वन डढेलो, खडेरी, उष्णीय आँधी र जैविक विविधताको ह्रासजस्ता समस्याले थप खतरा सिर्जना गर्दै छन् । यी सबैका कारण संसारमा थोरै मात्र बालबालिकाले बढ्दो जलवायु र वातावरणीय जोखिमबाट मुक्त जीवन बाँच्न पाएका छन् ।
र्यावरणीय ह्रास र प्रणालीगत परिवर्तनहरूले पनि मानिस र वातावरणबिच नयाँ अन्तक्र्रिया सिर्जना गर्दै छन् । यस परिवर्तनको असर मानिसको स्वास्थ्य, प्रतिरक्षा प्रणाली र कृषि उत्पादनमा परिरहेको छ ।
बालबालिकालाई जलवायु र पारिस्थितिकीय संकटहरूबाट जोगाउन असफल हुनु भनेको उनीहरूका लागि संयुक्त राष्ट्र संघको बाल अधिकार समितिले ‘सामान्य टिप्पणी २६’ मा स्पष्ट रूपमा जनाएका अधिकारको उल्लङ्घन हो । समितिले जलवायु र वातावरणीय खतराहरूलाई ‘बालबालिकाको अधिकारका लागि तात्कालिक र प्रणालीगत खतरा’का रूपमा पहिचान गरेको छ । सफा, स्वस्थ र दिगो वातावरणमा बसोबास गर्न पाउने बालबालिकाको अधिकार हो । जलवायु परिवर्तन र वातावरणीय संकटहरू, जैविक विविधताको ह्रास र व्यापक प्रदूषणको संयुक्त प्रभावले बालबालिकाको जीवनमा गहिरो प्रभाव पार्छ । जलवायुजन्य प्रभावका कारण स्वास्थ्य र शिक्षामा परेको प्रभाव, विस्थापित हुनुपरेको अवस्थालाई त आँखाले देख्न सकिन्छ । कतिपय मनोवैज्ञानिक, सामाजिक तथा सांस्कृतिक प्रभावलाई आँखाले देख्न सकिँदैन ।
जलवायु परिवर्तनले बालबालिकालाई रोगको थप जोखिममा पुर्याउँछ । उदाहरणका लागि— बढ्दो औसत तापक्रमले लामखुट्टेको संख्यामा वृद्धि गराएको छ र लामखुट्टेले सार्ने रोग (डेंगु, जिका, वेस्ट नाइल भाइरस आदि)को जोखिम बढाएको छ ।
हाल जलवायु र वातावरणीय संकटहरूको उच्च जोखिम सामना गरिरहेका देशहरूमा बसोबास गर्ने बालबालिकाको संख्या लगभग एक अर्ब छ, जुन संसारका बालबालिकाको लगभग आधा अंश हो । वायु प्रदूषण पाँच वर्षमुनिका बालबालिकाको मृत्युका लागि दोस्रो प्रमुख जोखिमको कारकका रूपमा रहेको छ ।
पहिले यी रोगको प्रभाव नपरेका स्थानका बालबालिका समेत अहिले यिनको चपेटामा छन् । जस कारण उनीहरूको स्वास्थ्यदेखि शिक्षा, मानसिक अवस्थामा पनि असर गरिरहेको छ ।
प्रख्यात जर्नल ‘नेचर कम्युनिकेसन्स’मा यसै वर्ष प्रकाशित एक अध्ययन अनुसार यस शताब्दीको पहिलो दुई दशकमा प्रति एक लाख नवजात शिशुमध्ये ३० जनाको मृत्यु जलवायु परिवर्तनका कारण भएको देखिएको छ । विश्वका ३० देशमा गरिएको यस अध्ययनमा नेपालको तथ्यांक पनि उल्लेख गरिएको छ, जस अनुसार नेपालमा प्रति एक लाख नवजात शिशुको मृत्यु हुँदा १० जनाको मृत्युको कारण जलवायु परिवर्तन देखिएको छ ।
प्रदूषित पानीको प्रयोग पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको मुख्य कारण हो । जलवायु परिवर्तनका कारण स्वच्छ पानीमा बालबालिकाको पहुँच कम हुँदै गएको छ । बाढीको पानीले पूर्वाधारलाई नष्ट गर्न सक्छ, जसले पानी आपूर्ति प्रणालीमा प्रदूषण ल्याउँछ र पानीजन्य रोगहरूको प्रकोपमा वृद्धि गर्दछ । चरम प्रतिकूल मौसमले बालबालिकाको विविध अवस्था लगायत स्वस्थ आहारको पहुँचमा सिधा असर पुर्याउँछ ।
आहारको विविधता र खाद्य अभावका कारण बालबालिका र गर्भवती महिलामा कुपोषणसम्बन्धी रोगको उच्च जोखिम रहन सक्छ । यसले बाल विकासमा नकारात्मक परिणाम ल्याउँछ । जलवायु संकट बढ्दै गएका कारण खाद्य सुरक्षा संकट अझ बढ्ने भविष्यवाणी गरिएको छ । वायु प्रदूषण बालबालिकाका लागि विशेष रूपले हानिकारक छ र यसको प्रभाव जीवनभर कायम रहन सक्छ । वायु प्रदूषणका कारण फोक्सोसँग सम्बन्धित रोग लाग्ने, क्यान्सरको जोखिम बढ्ने र स्नायु वा न्युरोलोजिकल विकारहरू तथा बाल्यकालको मोटोपन बढ्ने अनुसन्धानले देखाएका छन् ।
स्वास्थ्य समस्यालाई कतिपय अवस्थामा संक्रामक सूक्ष्मजीवको संक्रमण र तिनको असरहरूमा सीमित भएर बुझ्ने गरिन्छ, जुन गलत हो । जलवायु परिवर्तनका असरले हुने असामान्य घटनाहरूबाट बालबालिका लगायतलाई शरीरमा चोटपटक लाग्न सक्छ ।
जलवायु परिवर्तनका कारण हुने बाढी–पहिरो, आँधी–तुफान, डढेलो आदिको चपेटामा पर्ने बालबालिकाको मृत्यु हुनुका साथै शरीरमा चोटपटक पनि लाग्न सक्छ ।
- मानसिक असर
चरम प्रतिकूल मौसमी घटनाहरूले मानसिक स्वास्थ्यमा पनि उथलपुथल गर्न सक्छ । बाल्यकालमा चरम प्रतिकूल मौसमी घटनाहरूको सामना गर्नु उनीहरूका लागि अत्यधिक पीडाजनक हुन सक्छ । बालबालिकाहरू प्रायः यी परिस्थितिहरूमा कुनै निर्णय गर्ने अधिकार नभएको अनुभव गर्छन्, जसले सम्भावित मानसिक पीडालाई थप बिगार्ने र अझ तीव्र बनाउने गर्छ ।
यस्तो बेला अभिभावक, शिक्षक वा हेरचाह गर्ने व्यक्तिहरूले बालबालिकाको तर्फबाट निर्णय गर्छन् । त्यसैले जलवायु प्रभाव सामना गर्दा उनीहरूमा असहायपनको भावना बढाउँछ । अत्यधिक गर्मी, आँधी–तुफान, बाढी र भूकम्पलाई विशेष गरी मानसिक स्वास्थ्यका विभिन्न समस्यासँग जोडिएको छ, जसमा पोस्ट–ट्रमेटिक स्ट्रेस डिसर्डर वा मानसिक अवसाद पनि समावेश छन् ।
- शिक्षामा पार्ने प्रभाव
जलवायु आघातहरूले बालबालिकाको उपस्थितिलाई प्रभावित गर्दै सिकाइमा बाधा पुर्याउँछन् । अधिकांश अवस्थामा जलवायु संकटहरूले रोग फैलाउँछ वा बालबालिकाको दैनिक जीवनमा बाध्यकारी परिवर्तन ल्याउँछ ।
संसारभरका ४० करोडभन्दा बढी विद्यार्थीले सन् २०२२ देखि चरम प्रतिकूल मौसमका कारण विद्यालय बन्द हुनुपर्ने स्थितिको सामना गरेका छन् । भारत, पाकिस्तान र दक्षिण सुडानमा अत्यधिक गर्मीबाट विद्यालय बन्द हुनुपरेको अवस्था छ । संयुक्त राज्य अमेरिकामा वन डढेलो, मलावीमा आँधीचक्र र फिलिपिन्समा बाढीजस्ता जलवायु संकटले बालबालिकाको शिक्षालाई असर गरिरहेको छ ।
नेपालमा पनि यसै वर्ष (२०८१)को जेठ र असारमा अत्यधिक गर्मीका कारण विद्यालय बन्द गर्नुपरेको थियो भने यसै वर्ष असोजमा भएको अत्यधिक वर्षाले विद्यालयहरूमा पुर्याएको क्षतिका कारण अझै पनि धेरै स्थानमा पठनपाठन सहज बनाउन सकिएको छैन ।
जलवायु संकटका कारण बालबालिकाहरू आफ्ना घर र वासस्थानबाट पलायन वा विस्थापन समेत भइरहेका छन् ।
विश्व बैंकले पनि हालै जलवायु परिवर्तनका कारण हुने शैक्षिक प्रभावलाई ‘आर्थिक टाइम बम’का रूपमा वर्णन गरेको छ । यस बमलाई बेअसर पार्नका लागि एक प्रमुख उपाय हो, शिक्षा । विशेष गरी जलवायु शिक्षामाथि जोड दिनु हो । बालबालिकालार्य जलवायु परिवर्तनबारे बुझाइनुपर्छ ।
विडम्बना के छ भने, संसारभरिका बालबालिका र युवाले जलवायु परिवर्तनका बारेमा आफूहरूको ज्ञान अपर्याप्त भएको महसुस गर्छन् र यसको प्रभावको सामना गर्नका लागि आफूलाई तयार रहेको महसुस गर्दैनन् । युनिसेफ–ग्यालअपको सर्वेक्षणका अनुसार, औसतमा १५–२४ वर्षका ८५ प्रतिशत युवाले जलवायु परिवर्तनका बारेमा सुनेका छन् तर तीमध्ये केवल ५० प्रतिशतमा मात्रै यस अवधारणाको सही परिभाषाको ज्ञान रहेको पाइएको थियो ।
निम्नमध्यम र न्यून आय भएका देश, जहाँ जलवायु परिवर्तनको सबैभन्दा बढी जोखिम छ, त्यहाँका युवामा जलवायु परिवर्तनको ज्ञान सबैभन्दा कम पाइन्छ । जलवायु संकटबारे बुझ्ने बालबालिकाको अधिकारको रक्षा गर्न र यसको समाधानमा उनीहरूलाई पनि सहभागी गराउन रणनीतिक लगानी आवश्यक छ । निम्नमध्यम र न्यून आय भएका देशहरूका विद्यालयहरूको राष्ट्रिय पाठ्यक्रममा थप संरचनाको व्यवस्था गरेर जलवायु परिवर्तनलाई सम्बोधन गर्न सकिन्छ ।
नेपालमा स्थानीय तहहरूमार्फत स्थानीय स्तरमा उपयोगी हुने गरी जलवायु परिवर्तनका प्रभाव र असरबारेको शिक्षा पाठ्यक्रममा राख्न सकिन्छ । स्थानीय स्रोत एवं सीपको उपयोग गरी जलवायु परिवर्तनका असर घटाउनका लागि लगानी गर्नु पनि जरुरी छ ।
- बालबालिका विस्थापन
बालबालिकाहरू आफ्नो घर वा आवासबाट विस्थापन हुनुपर्ने अवस्थासँग जलवायु र वातावरणीय संकट जोडिएका छन् । विस्थापन, चाहे छोटो समयको होस् या दीर्घकालिक, त्यसले जलवायु र वातावरणीय संकटबाट उत्पन्न खतराहरूलाई अझ बढावा दिन सक्छ ।
जब बालबालिका आफ्ना घरबाट विस्थापित हुन्छन्, उनीहरू आफ्ना अभिभावक वा हेरचाह गर्ने व्यक्तिहरूसँग अलग हुने उच्च जोखिममा रहन्छन् । जस कारण उनीहरू शोषणमा पर्ने, बालविवाह हुने लगायत जोखिम रहन्छ ।
केही वर्षयताकै नेपालकै अनुभव हेर्दा पनि धेरै स्थानमा प्राकृतिक विपत्तिका घटनाबाट बालबालिकाले अभिभावक गुमाएको र सहाराविहीन भएको पाइन्छ । यस अतिरिक्त विस्थापनले शिक्षा प्रणालीमा विघटन ल्याउँछ । योसँगै अपर्याप्त खोप र पौष्टिक आहारको अभावका कारण बालबालिकामा स्वास्थ्य जोखिमहरू थपिन्छन् ।
बालबालिका र उनीहरूका परिवारले संसारभर भोगिरहेका संकट, विघटन र विस्थापनलाई कम गर्नका लागि जलवायु र वातावरणीय अनुकूलन पनि आवश्यक छ । यी परिवर्तन कार्यान्वयन गर्नका लागि, सरकार र विश्व समुदायले निर्णायक कदम चाल्नुपर्छ । बालबालिकाको स्वास्थ्य र सकुशलतालाई जलवायु नीति, लगानी र अन्य क्षेत्रहरूको केन्द्रीय विषय बनाइनुपर्छ ।
नेपाल बालअधिकार रक्षा महासन्धिको पक्ष राष्ट्र र जलवायु परिवर्तनका प्रभावले उच्च जोखिममा रहेको मुलुक हो । त्यस कारण नेपालले विस्थापनमा परेका बालबालिकाको स्याहार, स्वास्थ्य, शिक्षा र पुनःस्थापना सुनिश्चत हुने गरी ठोस कार्ययोजना बनाई त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न स्थानीय तहहरूलाई सबलीकरण गर्न जरुरी छ ।
पृथ्वी मात्रको यो संकटले द्वन्द्वको स्थितिहरूलाई पनि जन्म दिन्छ र यसले बालबालिकामा पर्ने हानिको परिमाण बढाउन सक्छ ।
पर्यावरणीय प्रभाव समाधानका लागि सूक्ष्म तहमा भन्दा महादेश र विश्वस्तरमा विस्तारित र ठुलो स्तरको प्रयास जरुरी हुन्छ । त्यसै गरी समस्याको विश्वव्यापी समाधान पनि जरूरी हुन्छ ।
- तथ्यांक प्रक्षेपण
नेपालमा विगत तीन दशकयता नवजात र बाल मृत्युदरमा देखिएको ऐतिहासिक कमीको निरन्तरताले बाल स्वास्थ्यमा भविष्यप्रति आशावादी बनाएको छ, तर बाल जीवनरक्षा र बाल–बचाउका सन्दर्भमा एक बच्चाको मृत्यु हुनु पनि धेरै ठुलो क्षति हो ।
यसै वर्षको नोभेम्बर २० मा युनिसेफद्वारा प्रकाशित ‘विश्वका बालबालिकाको अवस्थासम्बन्धी प्रतिवेदन २०२४’ ले वर्तमानमा न्यून–आय भएका देशहरूमा बालबालिकाको संख्या सन् २०५० को दशकमा उल्लेख्य बढ्ने प्रक्षेपण गरेको छ । युनिसेफको विश्लेषण अनुसार, हाल कम आय भएका २८ देशहरूमा बसोबास गर्ने बालबालिकाको संख्या सन् २०५० मा बढेर २३ प्रतिशत हुनेछ । त्यहाँ यो संख्या सन् २००० को दशकमा जम्मा ११ प्रतिशत थियो । सन् २०५० को दशकमा नेपालका छिमेकी देशहरू भारत, चीन, पाकिस्तान र बंगलादेशमा बालबालिकाहरूको संख्या मात्रै विश्वको २८.५ प्रतिशत हुनेछ ।
एक विश्लेषण अनुसार सन् २०५० मा नेपालको कुल जनसंख्या करिब तीन करोड ४७ लाख पुग्ने र १८ वर्षमुनिका बालबालिकाको अनुपात कुल जनसंख्याको लगभग एक चौथाइ हुने बताएको छ । यद्यपि यो अनुपात अहिलेको (३५ प्रतिशत) तुलनामा सानो भए पनि व्यक्ति गणनाको संख्या अहिलेको भन्दा केही लाख मात्रै सानो हुने देखिन्छ । त्यसैले नेपालका लागि बालबचाउ र किशोरावस्थाको जनसंख्याको स्वास्थ्य र सकुशलताको विषय अबका केही दशकसम्म उत्तिकै महत्त्वपूर्ण रहिरहनेछ ।
युनिसेफको प्रतिवेदनले सन् २०५० को दशकमा सन् २००० को दशकको तुलनामा विश्वका धेरै बालबालिकाले चरम जलवायुजन्य समस्याको सामना गर्ने प्रक्षेपण गरेको छ । यस प्रतिवेदन अनुुसार, आजको तुलनामा सन् २०५० मा करिब आठ गुणाभन्दा बढी बालबालिकाले अत्यधिक ताप लहरको सामना गर्नुपर्नेछ । खासगरी नदीजन्य ठुला बाढीहरू, विशाल डढेलो, चरम खडेरी र कडा उष्णीय चक्रवातहरूको सामना बालबालिकाले गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्व मानचित्रमा जलवायु परिवर्तनका प्रभाव रोक्न भइरहेको वैचारिक द्वन्द्वका बिच नेपालले यसका लागि अपनाएको रणनीतिक कार्यान्वयनको अवस्था हेर्दा हाम्रा आगामी पुस्ताले भोग्नुपर्ने जलवायु समस्या हामीले कल्पना गरेभन्दा र हाम्रो वर्तमान क्षमताभन्दा निकै ठुला हुनेछन् भन्नेमा दुईमत नहोला ।
(नेक्सस इन्स्टिच्युट अफ रिसर्च एन्ड इनोभेसन (निरी) सँग आबद्ध डा. पन्त बालबालिकामा हुने चोपटपकसम्बन्धी अनुसन्धानकर्ता हुन् । यो लेख युनिसेफद्वारा २० नोभेम्बर २०२४ मा प्रकाशित ‘विश्वका बालबालिकाको अवस्था २०२४’ प्रतिवेदनका आधारमा तयार पारिएको हो ।)